X <

बाल मनोविज्ञान

Posted on : 19 April 2019

संक्षिप्त नेपाली शब्दसागरमा मनोविज्ञानको अर्थ मनमा उब्जने विविध विचार, मनको प्रकृति, अवस्था, कृयाकलाप आदिको विस्तृत विवेचना गर्ने विज्ञान वा शास्त्र भन्ने बुझिन्छ। यस अर्थ अनुसार मानिसको मनको अध्ययन गर्ने विज्ञान मनोविज्ञान हो।

साच्चै नै एउटा बालकलाई फकाउन जति सहज हुन्छ। उसको मस्तिष्क बुझ्न उति नै कठिन छ। उसको मस्तिष्कमा के चलिरहेको छ रु उसलाई के चाहिन्छ र प्रत्येक क्षण परिवर्तन हुने उसको स्वभाव देख्दा हामीलाई अचम्म लाग्छ। तर जति अचम्म लागे पनि सबैभन्दा प्रिय र कठोरभन्दा कठोर मानिसलाई पनि क्षणभर मै नरम बनाइदिने यी बालकहरु पक्कै पनि इश्वरकै स्वरुप हुन्। कतिपय अभिभावकहरु आफ्ना बच्चाहरुले हैरान पारेको कुराहरु गर्नुहुन्छ।

वास्तवमा बच्चाहरुको पनि उमेरको एउटा गति हुन्छ। उनीहरु गर्भावस्थादेखि बाल अवस्था,  किशोर अवस्था  हुँदै बुढेसकालसम्म अलग्ग अलग्ग अवस्थामा आफ्नो स्वभाव, व्यवहार परिवर्तित गर्दै जान्छन्। यो एक प्रकारको नियमित प्रक्रिया नै हो। सुरुवाती अवस्थामा उनीहरु शारीरिक रुपले केही हदसम्म हिडडुल गर्न, चाहिएको बस्तु माग्नु, खानु, कराउनु, हाँस्नु लगायतका व्यवहार देखाउने गर्दछन्। यी व्यवहार स्वभाविक भए पनि बाल अवस्थामा त्यति विकसित भएको मानिदैन। स-साना बालबालिकाहरु अरुको कुरा सुन्नुभन्दा बढी आफ्नो कुरा राख्न खोज्छन्। अभिभावक भएको नाताले बालबालिकाको इच्छा पूरा गर्ने पर्यो। त्यस्तै केही बदमासी गरे नाई, हुन्न,  हुँदैन जस्ता शब्दहरु प्रयोग गर्दा बच्चाहरु झनै जिद्धी बन्ने गर्दछन्। बालबालिकाहरुले गरेको कुनै पनि राम्रो कामको प्रशंसा गरिदिनु पर्दछ। बालबालिकाहरुमा केही ज्ञान, समझदारी छैन भने उसको कुरा पूरा नभइकन हाम्रो आदेश सर्वपरी गराउनु हुन्न। बच्चाहरुको चाहिने कुरा पूरा गराउने र नचाहिने कुरालाई केही उदाहरण दिई सम्झाएर बुझाउनु पर्दछ।

बच्चाहरुले केही कुरा माग्दा त्यति ध्यान दिदैनौँ। तर त्यही ठूलो मान्छेले केही कुरा भन्दा छिनभरमै उनको कुरा पूरा गर्छौ। बच्चाहरुले पनि त्यस्तै व्यवहार खोज्छन्। जुन हामीले ख्याल गरिरहेका हुदैनौँ। आफ्ना बालबच्चाहरुसँग कुरा गर्दा धैर्यता र सहनशीलता एकदमै आवश्यक पर्दछ। अहिले सबै अभिभावकहरुको एउटै चाहना हुन्छ मेरा छोराछोरी सबैभन्दा राम्रो र  पढ्नमा अब्बल होस्। तर त्यसमा कुनै बालबालिकाहरु राम्रो भएर जान्छन्। कुनै कमजोर भएर जान्छन्। तर हरेकमा फरक फरक किसिमका कला, शिप र दक्षता हुनछ। पढाइ नै राम्रो नभए पनि उनीहरुमा फरक क्षमता हुन्छ। हाम्रा राजनीतिकर्मीहरुलाई हेरौं न, उनीहरु पढाइमा अब्बल नभए पनि राजनीतिमा निकै अब्बल छन्। यस्तै सोचेर अभिभावकहरुले आफ्ना बालबालिकाहरुसँग भिन्न दक्षता र अपेक्षा राखे पनि रिसाइ दिन हुँदैन।

बालबालिकाहरु कमजोर भए पनि समाजबाट थुप्रै कुराहरु सिक्दै जान्छन्। विस्तारै हेलमेल बढ्दै जाँदा विभिन्न कुराहरु अवलोकन गर्छन्। समाज र परिवेश नै उनीहरुको सिकाइको अर्को थलो हुन जान्छ। स्कूल र घर दुबैको सहयोगबाट मात्रै बाल विकास सम्भव छ। आजभोलि प्रायः जसो स्कूलमा बाल मनोविज्ञान बुझेर पढाईने भएकाले बच्चाहरुलाई दण्ड नभएर पुरस्कृत गर्दै पढाइने गरिन्छ। यदि कहिलेकाँही कुनै बालकले आफ्नो राम्रो प्रगति गर्न सकेका छैनन् भने त्यो विद्यालय वा त्यहाँको वातावरण बच्चाका लागि होइन भन्ने बुझनु पर्दछ। त्यस्तो पाइएमा बच्चालाई उसको अनुकुलको स्कूलमा अध्यापन गराउदा सुधार हुन आउँछ। बच्चाको अध्ययन अध्यापन विकास नहुनुमा स्कूल र अभिभावक बिचको पनि सम्बन्ध नहुन सक्छन्। कहिलेकाही कतिपय कुरामा हामी अभिभावक वर्ग अनिविज्ञ हुन्छौ भने स्कुल तर्फ पनि यस्तै भइदिएको हुन्छ। त्यसको लागि अभिभावक वर्ग र स्कूलका शिक्षकवर्गसँग एक अर्का बिच पारस्परिक सम्बन्ध हुन अत्यन्त जरुरी हुन्छ। एक दिनमा ६ घण्टा मात्रै विद्यालयको जिम्मेवारीमा बस्ने बालबालिकाहरु अभिभावकको सहयोग र सहकार्यविना सफल हुन ग्राह्रो कुरा हो। बाल मनोविज्ञानले बालबालिका हरेक ठाउँमा खेल्दै रमदै पढ्न रुचाउछन् । त्यसै प्रकारको हामीले पनि वातावरण मिलाउन जरुरी छ।

सन्दीप सापकोटा

अभिभावक