भगवान त हामीले पुज्ने एक कृत्रिम मूर्तिमात्र हो। वास्तविक भगवान ती हुन् जसले हामीलाई नौ महिना कोखमा राखेर यस सुन्दर धर्तीमा ओरालिन्, यस सुन्दर संसारमा रम्ने मौका दिईन्। मर्नको लागि हजारौ बाटोहरु छन् तर जन्मिनको लागि एउटै बाटो छ, ती हुन् आमा। आफ्ना सन्तानलाई ममताको छहारीमा जीवनभर लुकाउने नारी हुन् आमा। 'आपदि मातैव शरणम्' अर्थात् आपत विपतको बेला आमाको सम्झना गरिन्छ। कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट ‘ऐया आमा’ भन्ने वाक्यांश निस्किन्छ। अप्ठ्यारो परिस्थितिमा मुखबाट ‘आमा’ शब्द नै निस्कन्छ। आमाको सम्मान, प्रतिष्ठा र स्नेह अतुलनीय छ। मानिसमा मात्र नभै अन्य प्राणीमा पनि आमाको भूमिका प्रशंसनीय छ। प्राणी जगतमा आमाले जस्तो माया गर्ने संसारमा अरू कोही छैनन्। आमाको तुलना देवी-देउतासँग पनि अधूरो हुन्छ। आमाको त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ। आमाविना सृष्टि सम्भव छैन। वास्तवमा आमाको बारेमा जति नै व्याखा गरे पनि शब्दहरु कम हुन्छन्।
कुनै पनि सम्बन्ध देखावटी, स्वार्थ, रिसराग, बदला र धोखामा चलिरहेको हुन्छ। तर आमाको मायामा न त स्वार्थ हुन्छ, न त देखावटी हुन्छ, न त कुनै बदलाको भावना हुन्छ। आमाको माया त निश्चल र गंगाको पानी जस्तै चोखो र पवित्र हुन्छ। आमाको काखमा जुन असिम आनन्द छ, त्यसको अगाडी स्वर्ग पनि फिका छ। आमाले सबैको ठाउँ लिन सक्छिन् तर आमाको ठाउँ कसैले पनि लिन सक्दैन। आमालाई कसैसँग तुलना गर्न पनि सकिन्न।
हरेक सन्तानको पहिलो पाठशाला आफ्नो घर हो भने आमा पहिलो शिक्षक हुन्। पढेकी हुन् या नपढेकी निरक्षर हुन् तर संसारको बहुमूल्य ज्ञान आमाबाटै प्राप्त हुने गर्छ। आमाले नै सन्तानहरुलाई ज्ञानगुणका कुराहरु सिकाउँछिन्। गलत बाटोतर्फको यात्रालाई रोकेर आफ्नो भविष्यको गन्तव्यतिर डोर्याउँछिन्। त्यसैले आमाको महिमालाई वेद, पुराण, धर्मशास्त्र आदिमा उच्चस्थानमा राखेर व्याख्या गरिएको छ। शास्त्रमा आमाको गौरव गुरुभन्दा लाख तथा पिताभन्दा हजार गुणा बढी हुने बताइएको छ।
मेरो सबैलाई के अनुरोध छ भने आजै र अहिलेबाटै जति सक्नु हुन्छ आफ्नो आमालाई समय दिनुहोस्, आदर गर्नुस्, माया दिनुस्। यो दुनियामा यस्ता मान्छेहरु पनि छन् जोसँग आमा छिन् तर आमालाई दिने समय छैन, आमा छिन् तर आमालाई आदर र माया दिने भाव छैन। अन्त्यमा, जीवनमा भागवानसँग सिर्फ एउटै कुरा माग्छु, त्यो हो आमा बिनाको कुनै पनि घर नहोस् र कुनै पनि आमा बेघर पनि नहुन्।
सिम्रन डंगोल
शिक्षक









