नमस्कार अनि न्यानो अभिभादन यहाँहरु सम्पूर्णमा,
विद्यालयको तर्फबाट आयोजित यो विशेष ग्राजुयसन कार्यक्रमका अध्यक्ष महोदय, प्रमुख अतिथि ज्यू अन्य विशिष्ट पाहुनाहरु, मञ्चमा आसीन लब्ध प्रतिस्थित ब्यक्तित्वहरु, विद्यालय प्रिन्सिपलज्यू, विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण ब्यक्तित्वहरु, सम्पूर्ण शिक्षकशिक्षिकाज्यूहरु, तपाईं सम्पूर्ण अभिभावक ज्यू तथा प्यारा प्यारा विद्यार्थी नानीबाबुहरु,
म कक्षा १ मा अध्ययनरत कृतज्ञ बुढाथोकीको बाबा, यहाँहरु सामु विद्यालयसँग अन्यरुपमा जोडिएको ब्यक्ति भए पनि आज नितान्त अभिभावकको आँखाबाट दुई शब्द बोलिदिन विद्यालय प्रशासनबाट हिजोमात्रै आग्रह स्वरुप फोन आएपछि बेलुकी घरमा गई एकछिन घोत्लिएँ, केहीबेर छोरोसँग भलाकुसारी गरेँ र यसै बोल्दा भन्न खोजेका कुराहरु बिर्सिएला या तलमाथि पर्ला भन्ने लागेर बान्की नमिलेका २।४ शब्दहरुलाई जम्मा पार्दै मन्तव्य तैयार पारेँ र यहाँहरु समक्ष राख्ने अनुमति चाहान्छु ।
आदरणीय अभिभावक ज्यू ,
शुरुमा मैले मेरो बाबुलाई आजको दिन यही कालो गाउन लगाएर ग्राजुएसन गराउने र फोटो खिचाउने सानो उद्देश्यले यो मोन्टेश्वरी विधिबाट पढाइ हुने विद्यालयमा भर्ना गरेको थिएँ । तर शुरुमा मेरो साँगुरो उद्देश्य भए पनि एकपछि अर्को उद्देश्य थपिँदै गए र क्रमश: पुरा हुँदै गइरहेका छन् । सबभन्दा पहिलो कुरो, पहिले पहिले पटक्कै खाना नखाने बानी थियो, तर अहिले बाबुले राम्ररी खाना खाइदिने भएका छन्, जसले गर्दा शारीरिक तन्दुरुस्तीमा पूर्णता आएको छ। दोस्रो कुरो, विद्यालयको तर्फबाट दैनिक जसो योगा/मेडिटेसन गराउने कार्यक्रम भएकोले धार्मिक रुपमा यो वा त्यो भन्दा पनि सानै उमेरदेखि शरीर मजबुत बन्दै गइरहेको र यसभन्दा पनि बढी योगाको प्राक्टिसले गर्दा यो ६/७ वर्षको उमेरदेखि नै दिमागलाई शान्त र स्थिर पार्ने प्रयास भइरहेको छ जसले गर्दा सोच्ने र स्मरण गर्ने शक्तिमा बृद्धि भइरहेको महसुस गरेको छु । तेस्रो कुरा, शुरुका दिनहरुमा अंग्रेजी नबोलेर चिन्ता लागिरहेको थियो, तर आजभोलि अंग्रेजी बोलिचालीमा पनि सोचेभन्दा बढी बोलेको मैले पाइरहेको छु । तर फेरि सर, म्याडम र प्रिन्सिपलज्यूलाई अनुरोध गर्न चाहन्छु कि यसभन्दा बढी अंग्रेजी, यहाँसम्म कि बाबाआमा जस्ता नेपाली शब्दहरु नै बिर्सिएर अंग्रेजी बोल्ने चाँहि नबनाइदिनु होला । चौथो कुरा भनेको विद्यालयको सबभन्दा राम्रो पक्ष शिक्षालाई जिवनोपयोगी बनाउँदै विद्यालयले विभिन्न किसिमका फिल्डट्रिपहरु आयोजना गर्ने गर्दछ । उदाहरण स्वरुप केही समय अगाडि भक्तपुरको एउटा कृषि फारममा नानीबाबुहरुलाई विभिन्न नेपाली मौलिक कुराहरु अवलोकन गराउँदै घुमाउने क्रममा मेरो बाबुले मोही पार्दै गरेको फोटो शिक्षकहरुले खिचेर मलाई पोष्ट गरिदिनुभयो, त्यसले मेरो मन अत्यन्तै छोयो, अनि गाउँमा रहनु भएको मेरो बाबालाई पठाइदिएँ, बाबा पनि भावुक बन्दै भन्नुभयो, “यसले पारेको चिसो मोही एक घुट्को पिउन पाए हुन्थ्यो ।“ त्यसैले यस्तै खालका किताबी कुराभन्दा पनि व्यवहारिक ज्ञानमा बढी जोड दिनु हुन विद्यालय परिवारलाई मेरो विशेष अनुरोध छ । त्यसै गरी पाँचौ बुदा अन्तर्गत मलाई भन्न मन लागेको अर्का कुरा भनेको विद्यालयले Competition होइन, Cooperation मा बढी ध्यान दिएको देखिन्छ। मैले मेरो बाबुलाई Who is the first in your class? भनेर सोधें तर भन्न सकेनन् अनि त्यति पनि थाहा छैन भनेर म झर्किएँ । त्यसपछि, “के मा फस्ट भन्नुभएको बाबा?” भनेर छोराले प्रतिप्रश्न गरे । यतिखेरसम्मको भलाकुसारीमा म बडो अप्ठ्यारोमा परिसकेको थिएँ । किनकि विद्यालयले अस्वस्थ प्रतिस्पर्धा भन्दा सहकार्य गर्न, Cooperative हुन सिकाएको रहेछ । SEE Exam मा सहकार्य गर्ने र सकारात्मक हुने सोचले Board First को System हटाएर GPA/Grading System आएको पनि यही कारणले हो। यो क्रमलाई कायमै राखी विद्यालय परिवारलाइ अघि बढ्न हार्दिक अनुरोध छ । अर्का महत्वपूर्ण कुरा भनेको मन्टेश्वरी पढाइ सिद्धान्तको उच्चतम प्रयोग गर्दै त्यो भन्दा अझै नयाँ विधि तैयार पार्ने प्रयासमा विद्यालय परिवार लागिरहेको मैले देखेको छु साथै IT Technology पनि उपयोग गर्दै कामलाई चुस्त दुरुस्त पार्ने प्रयास गर्नु भएको छ । म यसको सराहना गर्दछु । यी सबै कुराहरु सम्भव भइरहेका छन्, केबल Young and Energetic Team ले । र यसको श्रेय प्रिन्सिपल सर र उहाँको टिमलाई नै जान्छ ।
म आजको यो विशेष दिनमा नकारात्मक कुरा गर्न त म चाहन्न तर केबल अभिभावकको तर्फबाट सुझावको रुपमा केही भन्न चाहन्छु । जस्तो Young Team छ भनेर त भनियो तर अलि बढी नै young हुनुभयो कि सर म्याडमहरु भन्ने लाग्छ । कहिलेकाहीँ काम गर्ने क्रममा पाकोपन देखिँदैन । यी कुराहरुलाई सुधार्दै लैजानु हुनेछ भन्ने अपेक्षा राख्दछु । त्यस्तै Writing skill लाई सुधार्न के गर्न सकिन्छ, प्रिन्सिपल सरले यथासिघ्र यसप्रति ध्यान दिनुहुनेछ भन्ने आशा गर्दछु । नानीबाबुहरुलाई कसरी well cultured गराउन सकिन्छ ? हुन त विद्यालयको नारा नै Let me do myself भन्ने रहेको छ । नानीबाबुहरुलाई सुसंस्कृत बनाउनको लागि हाम्रो घर परिवार र वातावरण पनि जिम्मेवार छ । तर पनि हामी चाहन्छौं विद्यालयले नै यसको Lead गरेर हरेक बिद्यार्थीलाई सुसंस्कृत बनाएर विद्यार्थीबाट घरसम्म र घरबाट समाज समेतलाई सुसंस्कृत बनाउने पहल गरोस् । र, अबको समयमा विद्यालयले यो कदम उठाउनु पनि एकदमै आवश्यक देखिन्छ ।
अन्तमा, विद्यालयको लागि एउटा विद्यार्थी होला, तर हामी अभिभावकको निम्ति सारा संसारको उत्कृष्ट बस्तुभन्दा पनि बहुमूल्य आफ्नो नानीबाबु हुन् । मेरो बाबु कृतज्ञ आज सानो बालक छ, भोलि संसार हल्लाउने ब्यक्तिहरु मध्येको एउटा Candidate हो, यो देश संचालन गर्ने राष्ट्रपति, प्रधानमन्त्रीको दावेदार ब्यक्ति हो, कुशल प्रशासक, डाक्टर, पाइलट, इन्जिनियर, वकिल, समाजसेवी सबै–सबै हो, यो भन्दा पनि ठूलो कुरो त बुढेसकालमा हामी आमाबाबालाई बृद्धाश्रममा नपठाउने र घरमै पालनपोषण गराउने छोरो हो। त्यसैले सोही बमोजिम सुसंस्कार सहितको सहि शिक्षा दिक्षामा कुनै पनि कमी नरहोस् यही भन्न चाहान्छु विद्यालय परिवारलाई ।
र यति भन्दै मेरा यी भनाइमा गल्ती कमी कमजोरी भएमा क्षमा चाहन्छु र ती शब्दहरु फिर्ता लिन्छु । मन्तब्यको लागि पुनः विद्यालय परिवारलाई धन्यवाद दिंदै आफ्ना भनाइहरु यहि टुङ्गयाउछु ।
धन्यवाद !!
(कक्षा–युकेजी २०७५ उतिर्ण गरी कक्षा एकमा अध्ययनरत विद्यार्थी नानीबाबुहरुका लागि आयोजित दिक्षान्त समारोहमा अभिभावकको तर्फबाट प्रस्तुत सन्देशमुलक मन्तव्य)
एञ्जल्स् हार्ट नेश्नल स्कुल, मनमैंजु, काठमाडौं।
दिल बुढाथोकी
अभिभावक









