X <

बालकथा लेखनबारे केही कुरा

Posted on : 16 January 2020

कुनै बालबालिकाको हातमा जब एउटा बालकथा पर्दछ र उनीहरु अत्यन्त रमाइलोका साथमा कथा पढ्न थाल्दछन्, एउटा लेखकको लागि त्यो नै खुसीको अन्तिम चरण हुन्छ र केही हदसम्म कथा लेखनको यात्राले त्यहाँनेर पुगेर विश्राम पनि लिन्छ । कहिलेकाहीँ बालबालिकाहरुले आफ्ना अभिभावकलाई कथा पनि सुनाउँदा हुन् वा उहाँहरुले बालकथा हेर्नुहुन्छ पनि होला । अनि कथा सुन्दा वा हेर्दा लाग्न सक्छ कि सायद यस्तो कथा त म पनि लेखी हाल्थें होला । कतिपय बालबालिकाहरुले कथा पढेपछि आफै पनि कथा सोच्न थाल्दछन् र आफ्ना कोमल हातहरुले लेख्न पनि थाल्दछन् ।
वास्तवमा जब कुनै कथा पढेपछि बालबालिकाहरु पनि कथा लेख्न थाल्दछन् अनि अभिभावकहरुलाई पनि यस्तो कथा लेख्न त सायद सहज नै छ जस्तो लाग्दछ त्यही नै उक्त लेखकको लागि अपार सन्तुष्टिको कुरा हो । बालबालिकाका भित्र आफैमा कथाकार जन्माउन सक्नु र अभिभावकलाई त्यो सहजता महसुस गराउन सक्नु कथाकारको लागि सफलता पनि हो । तर त्यो सफलता अनि अपार खुसी प्राप्त गर्नका लागि कथाकारले धेरै चरणहरु पार गरेको हुन्छ । त्यहाँ कथाकार मात्र होइन एउटा सिंगो समूह लागिपरेको हुन्छ अनि मात्र त्यो सृजनाले जन्म पाएको हुन्छ । यो लेखमा मैले एउटा बालकथा जन्माउनका लागि लेखकको लेखन यात्राका केही आफ्नै कथा अनि व्यथाहरु दर्शाउने कोशिश गरिएको छ र यो नितान्त मेरो आफ्नो अनुभवमा केन्द्रित रहेर तयार पारिएको लेख हो ।
लेखकले एउटा कथा लेख्नु मात्र पुस्तक लेखनको अन्त्य होइन । वास्तवमा त्यो त सुरुआत मात्र हो । कहिले यसै हिँड्दै जाँदा, कहिले कसैसँग कुरा गर्दै गर्दा, कहिले कुनै दृष्यहरुको अवलोकन गर्दै गर्दा, कहिले कुनै पुस्तक पढ्दै गर्दा वा कहिले लेखनका लागि यसै घोत्लिंदै गर्दा लेखकका मन मस्तिष्कमा एउटा परिकल्पनाले जन्म लिन्छ । कहिले धेरैबेर सोच्दा पनि कुनै परिकल्पनाको आकार पनि सृजित हुँदैन भने कहिले एउटा परिकल्पनाको जन्मेका एक पनि अनेक हुन जान्छ । अनि लेखकले उक्त परिकल्पनालाई कागजमा उतार्न सुरु गर्दछ त्यो नै कथाको वीजारोपण हो । जमिनमा रोपेको वीज जस्तै बिस्तारै त्यो परिकल्पनाले पनि लेखकको डायरीमा आफ्नो स्वरुपको विकास गर्न थाल्दछ र केही समय पश्चात त्यो एउटा कथाको रुपमा फक्रिन्छ ।
कहिले शब्द भेटिदैन, कहिले भाव पुग्दैन, कहिले मनोरञ्जन कम हुन्छ त कहिले सन्देश हराउन खोज्छ । कहिले बालबालिका भएर सोच्नुपर्ने, कहिले अभिभावक भएर हेर्नुपर्ने, कहिले शिक्षक भएर पुनरावलोकन गर्नुपर्ने अनि कहिले त्यसमा चित्रित हुने चित्रका आधारमा सोच्नुपर्ने । न लामो होस्, न अति नै छोटो, विषय दोहोरिन पनि भएन अनि पहुँच योग्य पनि हुनुपर्ने । यी सबै कुराहरुको हेक्का राख्दै अनि मलजल गर्दै कथालाई पूर्णता दिने प्रयास हुन्छ ।
कहिलेकाहीँ प्रकाशकहरुको अनुरोधमा कथा लेख्ने काम हुन्छ भने कहिले कथा लेखे पश्चात प्रकाशकको खोजी कार्य सुरु हुन्छ । हरेकका लागि आफूले लेखेका सृजनाहरु उत्तिकै प्यारा हुन्छन् र राम्रो पनि लाग्दछ तर जब प्रकाशकले सृजनालाई मन पराइदिदैनन् वा त्यस प्रकारको सृजनाको माग नभएको वा त्यसले दिने सन्देश खासै प्रभावकारी नभएको कुरा गर्छन् त्यो बेलाको वेदना बेग्लै हुन्छ । फेरि त्यसमा आवश्यक परिवर्तन गरेर प्रकाशकको दृष्टिकोणलाई पनि समावेश गरेर कथालाई परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ । जब प्रकाशक उक्त सृजना प्रकाशनका लागि राजी हुन्छन् त्यो अत्यन्त खुसीको पल हुन्छ र यस्तो लाग्दछ कि सृजनाले अब एउटा अभिभावक पायो । यतिमै यात्रा सकिदैन । बरु अब यात्रा सुरु भयो, गाडी सडकमा आयो अब त्यसले दूरी तय गर्नुपर्ने छ र आफ्नो गन्तव्यमा पुग्न बाँकी नै छ ।
चित्रकार को हुने होला, चित्रकारले कथाकारको भावनालाई हुबहु बुझेर क्यानभासमा खेल्न सक्ने हुन कि होइनन्, कथाका चरित्र कस्ता बनाइने हुन् अनि रङ्गको संयोजन कस्तो होला अब कथाकारको मनमा खेल्ने कुराहरु यिनै हुन् । हुन त चित्रकार आफैमा अनुभवी अनि सुल्झेका हुन्छन्, कथाकारको भावनालाई बुझेर ब्रस चलाउन सक्ने क्षमता उनीहरुमा हुन्छ तथापि कथा लेख्दै गर्दा कथाकारको दिमागमा पनि कथाका चरित्रहरुले आफ्नो छवि बनाइरहेका हुन्छन्, कथाको वातावरण बनेको हुन्छ, घर बनेको हुन्छ, गाउँ शहर बस्ती बनेको हुन्छ । चरित्रहरुले संवाद गर्छन्, लुगा लगाउँछन् अनि आफ्ना दैनिकी पनि गर्दछन् । समग्रमा कथाका चरित्रहरु कथासँग सँगै कथाकारको मन मस्तिष्कमा खेलिरहेका हुन्छन् ।
त्यसैले आफ्ना मनका ती सबै भावनाहरुलाई चित्रकारको सृजनासँग मेल गराउन सक्नु अनि सहमत हुन सक्नु कथाकारको लागि अर्को खुड्किलो हो जो चरणबद्ध छलफल पश्चात एउटा नतिजामा पुग्छ र चित्रकारको कुशलताले कथामा प्राण भरिन पुग्छ । कतिपय अवस्थामा कथा प्रकाशक समक्ष पुगेपछि लेखक र चित्रकारको भेट पनि हुँदैन र आखिरमा कथा छापिएर आउँदा कथाकारले सोचेको भन्दा फरक चित्रहरु बनेका हुन्छन् तर आजकल लेखक र चित्रकारहरुको बीचमा भेट र छलफल पनि हुने गरेको छ जुन सकारात्मक कुरा हो ।
यहाँनेर पुग्दा कथाकारको उत्साह अनि अपेक्षा एक खालको उर्लदो भेल जस्तै भएको हुन्छ, उसले एउटा बालकले त्यो चित्रकथा आफ्नो हातमा लिएर पढेको कल्पना गर्दछ, कहिले कथामा रमाएका अनि कहिले चित्रमा भुलेका बालबालिकाको कल्पना पनि गर्न थाल्दछ । यो बेला कथाकारको चेहेरामा आउने अनायास मुस्कान र ब्यग्रता सायदै अर्को कथाकारले मात्र बुझ्न सक्छ होला ।
अंग्रेजीमा एउटा भनाइ छ- 'Kill your darlings' । कथा जब सम्पादक समक्ष पुग्दछ कहिलेकाहीँ सम्पादकले कथाको त्यो वाक्य वा लाइनलाई कथाबाट हटाइदिएका हुन्छन् जुन लेखकका लागि अतिप्रिय हुन्छ । आफ्नो प्रिय वाक्यहरु सम्पादकले हटाइदिँदा कहिलेकाहीँ त यस्तो लाग्दछ कि अब त यो कथा बेकार भयो र यसको मर्म नै हरायो । त्यो बेला आफ्नो मनलाई मुस्किलसँग सम्झाउनुपर्ने हुन्छ र आफूलाई मन परेको लाइन हराएको गवाह आफै बन्नुपर्दछ । धेरै कम अवस्थामा मात्र सम्पादकसँग लेखकको भेट अनि छलफल हुने गर्दछ र आजकल यो प्रक्रिया पनि बढ्दो छ, लेखक र सम्पादकको भेट अनि आपसी छलफलद्वारा कथा एउटा निष्कर्षमा पुग्ने गर्दछ र यो पनि एउटा सकारात्मक कुरा हो ।
सम्पादकद्वारा सम्पादन भए पश्चात एउटा अन्तिम स्वरुपको चित्रकथा अब प्रकाशकले छाप्नका लागि छापाखानामा पठाउँछन् । पुस्तक छापिने प्रक्रिया कहिले नेपालमै हुन्छ भने कोही प्रकाशकले भारततर्फ पनि पठाउने गरेको पाइन्छ । यो एउटा पर्खाइको समय हो । कस्तो कागजमा छापिने होला, गुणस्तर कस्तो हुने होला अनि रङ्ग कस्तो देखिने होला भन्ने कौतुहलता तबसम्म रहन्छ जबसम्म हातमा पुस्तक पर्दैन । अझ सबैभन्दा पछुतो त त्यतिबेला हुन्छ जब कथा छापाखानामा छापिंदै गरेको हुन्छ र यता कथाकारको दिमागमा त्यो कथाका लागि केही थप कुराहरु फुर्दछ । न त्यो कुरा थप्न सकिने न त अब त्यो बताउन सकिने, कतिपय अवस्थामा पछिबाट आएका यस्ता कुराहरु कथाकारका दिमागमै आफै मरेर जान्छन् ।
“ल बधाई छ, तपाईको किताब आइसक्यो” प्रकाशकको यो कुरा सहितको फोनको पर्खाइ कथाकारलाई लामो समयदेखि रहेको हुन्छ । फोन आउँछ, हतार हतार प्रकाशक कहाँ पुगेर आफूले लेखेको किताब अब आफ्नो अगाडि छ । नौ महिनासम्म आफ्नो कोखमा राखेर जन्माएको बालकलाई काखमा राखेर उसको चेहेरा सुम्सुमाए जस्तै जब कथाकारले उक्त किताब आफ्नो हातमा लिएर त्यसको कभर पेजलाई आफ्ना औंलाहरुले सुमसुम्याउन थाल्छ त्यो बेलाको हर्षको बयान शायद शब्दमा गर्न सकिंदैन । पछि छपाईको क्रममा आफ्नो दिमागमा आएका कुराहरु यसबेला किताबमा देख्न नपाउँदा केही नैराश्यता त पक्कै पनि आउलान् तर ती सबै नैराश्यता त्यो बेलाको अपार हर्षमा कतै बिलाएर जान्छन् ।
कहिले कथावाचन कार्यक्रममा, कहिले पुस्तक प्रदर्शनीमा, कहिले पुस्तक हस्ताक्षरमा अनि कहिले पुस्तकपसलमा जब आफ्ना चित्रकथाहरु बालबालिकाले अध्ययन गरिरहेका हुन्छन् त्यो बेलामा उनीहरुको चेहेरामा जब एक खालको रमाइलोपन अनि सन्तुष्टि देख्न पाइन्छ, त्यहाँनेर पुगेर मात्र त्यो पुस्तकका लागि लेखकको लेखन यात्रा टुँगिन्छ । उनीहरुको चेहेरामा छाएको त्यो मस्त आनन्द नै लेखकका लागि उपलब्धि हो र प्रयास पनि त्यसैका लागि गरिएको थियो ।
अभिभावकहरुलाई उक्त कथा सामान्य लाग्नु अनि कथा पढेर बालबालिकाहरुमा पनि कथा लेख्ने उत्साह जाग्नु र लेख्ने प्रयास पनि गर्नु स्वाभाविक नै हो । किनभने कथाकारले जहिले पनि आफ्नो रचनाको अन्तिम स्वरुप सकेसम्म सहज अनि पहुँचयोग्य होस् भन्ने प्रयास गरेको हुन्छ र यदि त्यसो हुन सक्यो भने त्यो नै कथाकारको लागि सफलता हो र भविष्यमा बालसाहित्यमा थप ऊर्जावान कथाकारहरुको आगमनको सकारात्मक सन्देश पनि हो ।
यसरी नै एउटा कथाकारको कथा रचनाको यात्रा समाप्त हुन्छ अनि अब उक्त यात्राका सबै अनुभव र सुझावहरुलाई उर्जाको रुपमा लिएर कथाकार फेरि अर्को यात्राको तयारीमा लाग्दछ ।


अनुराधा

बाल कथा लेखिका